इजलास बहिष्कार गर्दै कानुन व्यवसायी आन्दोलित
मकवानपुर । जिल्ला अदालत ललितपुरमा कार्यरत नायब सुब्बा र अधिवक्ताबीच भएको घटनालाई लिएर विवाद ललितपुर हुँदै देशभर फैलिएको छ । चार दिनअघि जिल्ला अदालत ललितपुरमा कर्मचारी र कानुन व्यवसायीबीच कुटपिटको घटना एक अर्कामाथि आरोप लगाउदै आ–आफ्नो तहबाट विरोधका कार्यक्रम चर्काउन थालेका छन् ।
आइतबार अदालतका कर्मचारी ट्रेड युनियनहरुले दिउँसो १ बजेसम्म कलम बन्द गरेर विरोध प्रदर्शन गरेकोमा त्यसको प्रतिक्रियामा कानुन व्यवसायीहरुले आइतबार नै १ बजेपछि अदालतमा बहस पैरवी गरेनन् ।
नेपाल बार एशोसिएशनको आकस्मिक बैठकले सोमबार देशव्यापी विरोध गर्ने भन्दै बन्दीप्रत्यक्षीकरणको निवेदन बाहेक अरु मुद्दामा बहस पैरवी नगर्ने घोषणा अनुरुप सबै अदालतहरुमा विरोध कार्यक्रम गरिएको खबर प्राप्त भएको छ ।
घटनाको सत्यतथ्य छानबिन हुनु पर्ने, दोषीलाई कारबाही गर्नु पर्ने र लामिछानेमाथि लगाइएको झुटो मुद्दा फिर्ता हुनु पर्ने साथै अदालतमा विकृति, विसंगति अन्त्य हुनुपर्ने त्यसविरुद्ध कानुन ब्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।
हेटौँडास्थित उच्च अदालत पाटन इजलास र जिल्ला अदालत मकवानपुरमासमेत कानुन व्यवसायीहरूले इजलास बहिष्कार गरेका छन् ।